काठमाडौं । नेपाली कांग्रेसले ४५ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पुर्याई विवाद रहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।
जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइटबाट कांग्रेसले सार्वजनिक गरिएको हो ।
आज सार्वजनिक विवरण www.nepalicongress.org मा गएर हेर्न सकिने कार्यालयले जनाएको छ । शुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले विज्ञप्तिमार्फत जानकारी दिनु भयो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयानुसार विवरण सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी जेठ ७ गतेभित्र लिखित गुनासो पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।