प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।
आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिनुभएको छ ।
प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।
उनले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किनेछन् ।
यसैविच चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे ।
चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।