सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस र्गनुभएको छ । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।
उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको हो । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस र्गनुभएको छ ।
दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले बैठकमा दुई अध्यक्षसहित नेताहरुले आफ्नो धारणा राखेको जानकारी दिनुभएको छ । ‘पार्टीलाई विभाजन तर्फ जान नहुनेमा नेताहरुले जोड दिनुभएका श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको हो। नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।