सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको हिउँदे अधिवेशन बोलाउनेबारे संसद् सचिवालय तयारीमा रहेको र सरकारसँग पनि छलफल भइरहेको बताउनुभएको छ ।
सरकारले अध्यादेश ल्याइरहेको तर संसद् अधिवेशन बोलाउनेबारे केही तयारी नगरेको भनेर सांसदहरूले प्रश्न उठाइरहेका बेला सभामुखले सकेसम्म छिटो संसद् अधिवेशन बोलाउने तयारी भइरहेको बताउनुभएको हो ।
कांग्रेसका मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएपछि आज सभामुखले संसद् अधिवेशन बोलाउनेबारे तयारी भइरहेको बताएका हुन् । अबको एक महिनाभित्र संसद् अधिवेशन सुरु हुने उहाँको भनाइ छ ।
अध्यादेशलगायत सम्पूर्ण विषयमा संसद्मा नै छलफल हुने सभामुख सापकोटाको भनाइ छ । कोरोना भाइरसको संक्रमण चलिरहेकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर संसद् चलाउने तयारी भइरहेको सभामुख सापकोटाले बताउनुभयो ।
सरकारले असोजयता मात्रै ५ अध्यादेश जारी गरेको तर संसद् अधिवेशन भने नबोलाइएकोमा सरकार र संसद्को नेतृत्वको आलोचना भइरहेको छ ।