काठमाडौँ । आफूमाथि गम्भीर आरोपसहित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा राजनीतिक प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि जावफी प्रस्ताव पेश गर्ने भएका छन् ।
दिउँसो बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव पेश गर्ने जानकारी दिनुभएको हो । अध्यक्ष ओलीले समेत सचिवालयमा छुट्टै प्रस्ताव पेश गर्ने जानकारी दिएपछि १० दिनसम्म बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
श्रेष्ठका अनुसार मंसिर १३ मा बस्ने बैठकमा ओलीको प्रस्तावसहित यसअघि सचिवालयमा पेश भएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र अन्य पत्रहरुबारे छलफल हुने भएको छ ।
कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बुहमत सदस्यको समर्थनमा १९ पेज लामो प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावमा पार्टी र सरकार सञ्चालनमा ओली असफल रहेको दाबीसहित निकासका लागि उहाँले त्याग गर्न माग गर्नुभएको छ ।
दाहालले एकलौटी ढंगले गम्भीर आरोपसहित प्रस्ताव पेश गरेको भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता लिन अडान राख्नुभएको थियो । तर, दाहाल प्रस्ताव फिर्ता लिन तयार नभएपछि ओलीले पनि आफ्नो काउन्टर प्रस्ताव सचिवालयमा पेश गर्ने जानकारी दिनुभएको हो ।
यसैविच नेकपा महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।
अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उहाँले आजको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए । पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।