काठमाडौं । डेढ महिनादेखि रोकिएको नेकपा स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा सरकारको कामको समीक्षादेखि ‘एमसीसी’ परियोजनाको भविष्य र जनमतद्वारा अस्वीकृत वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल हुने जनाइएको छ ।
तर, वरिष्ठ नेता माधव नेपालले उठाएको एक व्यक्ति एक पदको मुद्दा भने ओझेलमा परेको छ । नेता नेपालको मुद्दा आज बस्ने स्थायी कमिटी बैठकमा प्रवेश नहुने जनाइएको छ । दोहोरो भूमिकामा रहनुभएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि पदबाट राजीनामा दिनु नपर्ने भएपछि नेपालको मुद्दा पाखा लागेको हो ।
कार्यकारी अधिकार आफूले पाएसँगै यो विषयमा अध्यक्ष पुष्पकमल दाहाल मौन रहनुभएको छ । अध्यक्षको ‘पोर्टफोलियो’ मिलेसँगै बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीको विषय पनि टुंगोमा पुग्ने भएको छ । यसको केही बुँदामा संशोधन गरी विवाद अन्त्य गर्न नेकपाका नेताहरु सहमत भएका छन् ।
बैठकमा प्रस्तुत हुने सम्पूर्ण एजेन्डाहरु विवाद समाधान समितिले दिएको प्रतिवेदनको हुबहु रहेको स्रोतले जनाएको छ । बैठकमा संसदीय दलको कार्यालय एउटै बनाउनेदेखि सीमा समस्याका विषय छलफल गराउने अध्यक्षद्वयको तयारी छ