काठमाडौं । रामसहाय प्रसाद यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएसँगै अब बारा क्षेत्र नम्बर २ खाली हुने भएको छ ।
यादव गत मंसिर ४ मा भएको निर्वाचनमा जनता समाजवादप् पार्टी (जसपा) का तर्फबाट प्रतिनिधि सभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तर यादव शुक्रबार उपराष्ट्रपति निर्वाचनमा विजयी भएसँगै उक्त निर्वाचन क्षेत्र खाली हुने भएको हो । जसमा उपनिर्वाचन हुनेछ ।
कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी, जसपा लगायतका दलको गठबन्धनबाट उम्मेवार बनेका यादव उपराष्ट्रपतिमा विजयी हुँदा नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य र गठबन्धनमै रहेको दल जनमत पाटीकि ममता झा भने पराजित भए । शाक्य र झा भने सांसद छैनन् ।
तीन वटा निर्वाचन क्षेत्र भए खाली
यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै अब प्रतिनिधि सभामा बारा २ सहित प्रत्यक्ष तर्फ तीन सिट खाली भएका छन् । नागरिकता प्रकरणमा चितवन –२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद गएपछि उक्त क्षेत्र खाली छ । त्यहाँ निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी गत फागुन २५ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ खाली भएको छ । अब पूर्वनिर्धारित कार्यतालिक अनुसार चितवनमा पहिला उपनिर्वाचन गर्नेकि या अर्काे मिति तय गरेर तीनवटै क्षेत्रमा एकैपटक निर्वाचन गर्ने भन्ने कुरा आयोगले निर्णय गर्नेछ ।