काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान गरेका हुन् । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार भएको मतदानमा यादव निर्वाचित भएका हुन् । आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिएका छन् ।
उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ।उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन्।सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।