काठमाडौँ । उपराष्ट्रपतिमा विजयी रामसहाय प्रसाद यादवले राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यादवले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताएका हुन् ।
‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको जे काम र अधिकार छ । त्यसैअनुसार संविधानको पालना गर्ने, रक्षा गर्ने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने मेरो प्राथमिकता र भूमिका हुनेछ’, यादवले भने, ‘नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ ।’
साथै उनले राष्ट्रपतिको सहयोगीको भूमिका निर्वाह गर्ने यादवको भनाइ छ ।