काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता नलिए शपथ नलिने चेतावनी दिएको छ । सो पार्टीले मुद्दा फिर्ता नलिए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएका हुन् ।
सरकार गठनका लागि सहयोग माग्दै सत्ता गठबन्धनका नेताहरू रेशमलाई भेट्न जेलमै धाइरहेका बेला नागरिक उन्मुक्ति पार्टीले मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको हो ।
नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।
यसैगरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत नपुगेपछि नेताहरूले रेशमलाई जेलमै भेटेर सहयोगका लागि आग्रह गर्न थालेका हुन् ।
उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र कांग्रेसका शीर्ष नेताहरूले भेटेर सरकार बनाउन सहयोग मागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर मुद्दा फिर्ता लिने भन्दै सरकारमा सहभागी हुन उनीहरुले रेशमलाई आग्रह गरेको बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टीले चाहिँ सरकारमा जानका लागि मुद्दा फिर्ताको मुद्दालाई नै प्रधान बनाएको छ । अब उधारो सहमति नभइ माग पुरा भएपनि मात्रै सरकारमा जाने बचन दिएको प्रवक्ता दामोदर पण्डितले बताए । माग पूरा नभए शपथ पनि नलिने उनको दाबी छ ।