काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा समय मुख्यमन्त्री पाउने सहमति सार्वजनिक भएको छ। एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे सम्झौताअनुसार हट्न तयार नभएपछि कांग्रेसले उक्त सहमति पत्र सार्वजनिक गरेको हो ।
२०७८ साल कात्तिक ७ गते तीन दलबीच सहमति भएको हो । सहमतिमा सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री पाण्डे, कांग्रेस बागमती अध्यक्ष इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेलको हस्ताक्षर छ ।
सोही सहमतिका आधारमा २०७८ साल कात्तिक ११ गते एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए ।त्यसपछिको दोस्रो आधा अवधि कांग्रेसका बानियाँ मुख्यमन्त्री हुने सहमति थियो। मंसिरमा निर्वाचनको तयारी सरकारले गरेको छ ।
झन्डै ९ महिनासम्म मुख्यमन्त्री बनिसकेका पाण्डेलाई सहमति कार्यान्वयन गर्न बानियाँका तर्फबाट आन्तरिक दबाब पर्दै आएको छ । तर, सत्ता गठबन्धनका शिर्ष नेताहरुले प्रदेश नेतृत्व हेरफेरमा छलफल नै नगरेपछि उक्त् सहमति अलपत्र परेको हो ।
बागमतीको मुख्यमन्त्री सहमतिअनुसार कांग्रेसले पाएमा सुदूरपश्चिम एकीकृत समाजवादीले दाबी गर्ने तयारी गरेको छ ।
