काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले सरकारले ल्याएको यसपालीको बजेट ‘भत्केको घरको विग्रेका चाल, जता हेर्यो उतै झ्याल’ जस्तै भएको बताएका छन् ।
प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेता बस्नेतले गणेशले शिवजीलाई परिक्रममा गरेजस्तै यसपालीको बजेटले प्रधानमन्त्री, मन्त्री र नेताहरुको घरको परिक्रमा गरेको बताए । उनले भने, ‘भक्तपुर लगायतका अन्य जिल्लामा व्यापक बजेट कटौती गरिएको छ । एउटा नगरपालिकाले वडाका लागि बनाउने जस्तै गरी संघीय सरकारले २/४ लाखको बजेट बनाएको छ ।’
बस्नेतले एम्बोष्ट नम्बरको टेन्डरका बारेमा भएको अनियमितताका बारेमा मन्त्रीले सदनमा जवाफ दिनु आवश्यक भएको बताए । उनले जनताबाट उठाएको रकमको हिनामिना तथा नेपाली लिपीलाई किन समाप्त पार्न खोजियो भनी प्रश्न गरे ।
बस्नेतले अहिले मुलुक कृषि प्रधान भन्दा पनि कमिसनप्रधान बन्न थालेको र भौतिक निर्माण होइन भ्रष्टाचार निर्माण गर्ने मुलुकतर्फ गयो भनेर चर्चा हुन थालेको बताए ।
भक्तपुर जिल्लामा मनोहरा, हनुमन्ते करिडोर तथा बीर अस्पताल जाने सडक लगायतका छुटिएका अरबौं यसपाली काटिएकोका आपत्ति जनाउँदै बस्नेतले प्रश्न गरे, ‘पेप्सीकोला–सल्लाघारी सडक, बालकुमारी–रानीकोट सडक, पलाँसे–डोलेश्वर लगायतका सडकको बजेट आग्रह पूर्वाग्रह ढंगबाट किन काटियो यसको जवाफ चाहियो ।’