काठमाडौं । युगाण्डासँगको पाँचौ तथा अन्तिम टी–ट्वेण्टी क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोली विजयी भएको छ । नेपालले आज युगाण्डालाई ३३ रनले पराजित गरेको हो ।
नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाएको छ । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् ।
बलिङतर्फ नेपालका सीता रानामगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरान्मायी रोयले एक/एक विकेट लिए । यसअघि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो ।
नेपालको लागि ज्योती पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । युगाण्डाले यसअघि नै श्रृंखला जितेको छ । युगाण्डाले पहिलो, दोस्रो र तेस्रो खेल जितेको थियो । नेपालले हिजो भएको चौंथो खेलमा युगाण्डालाई १५ रनले हराएको थियो ।