काठमाडौं । ललितपुर महानगरपालिकाको सर्वदलीय बैठक शनिवार भोलि विहान ७ बजे बस्ने भएको छ । महानगरका २९ वटै वडाबाट मतपेटिका संकलन समयमै नहुने भएपछि शनिवार विहान मात्रै सर्वदलीय बैठक बस्ने गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले बताए ।
सर्वदलीय बैठकपछि मात्रै मतगणना कार्य सुरु हुने महर्जनले बताए । मत गणना जाउलाखेलस्थित स्थानीय विकास तालिम केन्द्रको भवनमा हुने भएको छ।
सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन मेयर र माओवादी केन्द्रबाट उपमेयरमा बाबुराज बज्राचार्य प्रतिष्पर्धामा छन् । यस्तै एमालेबाट हरिकृष्ण ब्याञ्जनकार र उपमेयरमा अन्जली शाक्य छिन् ।
मेयर र उपमेयरमा सत्ता गठबन्धन र एमालेबीच मात्रै प्रतिष्प्रधा हुने भएको छ । यसअघि निर्वाचनमा मेयरमा काँग्रेसका महर्जन र एमालेका ब्याञ्जनकारबीच प्रतिष्पर्धा हुँदा महर्जनले जितेका थिए ।
यस पटकको निर्वाचनमा समेत दुई जनाको प्रतिष्प्रधालाई रोचक रुपमा लिएको छ ।