काठमाडौं । हेटौँडा उपमहानगरपालिकामा खसेको मत सिद्धार्थ माध्यमिक विद्यालयमा गणना हुने भएको छ । मतगणनाका लागि सबै तयारी पूरा भएको र आजै रातिदेखि गणना गर्ने गरी तयारी पनि थालिएको छ ।
हेटौँडाका १९ वटै वडाबाट मतपेटिका प्राप्त भएपछि गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले हेटौँडाका विभिन्न वडाबाट मतपेटिका सङ्कलनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी, सुरक्षाकर्मी लगायतकाको सहयोगमा मतपेटिका सङ्कलन भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिए ।
यसैगरी मकवानपुरका दश वटै पालिकामा मतदानको काम सकिएको छ । मतदानको काम सकिएलगतै गणनाका लागि मतपेटिका सङ्कलन गर्ने काम सुरु भएको छ ।
आज मकवानपुरमा पानी परेकाले मतदातालाई मतदान गर्नका लागि निकै कठिनाइ भयो । पानी पर्ने पूर्वअनुमान गरिए पनि सावधानी नअपनाउँदा मतदातालाई समस्या भएको हो ।