काठमाडौं । देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो ।
स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ । लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ ।
केसीका अनुसार कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको छ । उनका अनुसार विभिन्न कारणले ११० स्थानमा मतदान स्थगित भएकामा ७६ स्थानको भने पुन सुचारु भएको छ ।
यसैबीच निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले छिटपुटरुपमा भएका आपसी द्वन्द्व, झडप, झगडा र हिंसात्मक घटना भएको जनाएको छ । समितिले घटनाहरूले पर्यवेक्षकहरूले समेत असुरक्षित महसुस गर्न परेको र भयभीत वातावरणमा पर्यवेक्षण गरेको जनाएको छ ।