काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी खटाएको छ । नेपाल प्रहरीको कमान्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षामा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म मृत्यु भइसकेको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक जना, बागमती प्रदेशमा दुईजना र कर्णाली प्रदेशमा एकजना गरी चारजना म्यादी प्रहरीको मृत्यु भएको हो ।
त्यस्तै झडपमा परी २३ जना म्यादी प्रहरी र १६ जना जनपद प्रहरी गरी ३९ जना घाइते भएका छन् । घाइते हुनेमा प्रदेश १ मा चारजना, मधेश प्रदेश र बागमती प्रदेशमा ६/६ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एकजना म्यादी घाइते भएका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुईजना, गण्डकी प्रदेशमा चारजना गरी १६ जना प्रहरी घाइते भएका छन् । निर्वाचनको सुरक्षामा खटिएको समयमा ज्यान गुमाउने सुरक्षाकर्मीलाई २० लाख आर्थिक सहायता दिने निर्णय सरकारले गरेको थियो ।