काठमाडौं । कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेका इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौंको सुन्धारामा रहेको ‘सीटिसी मल’ लिलामी हुने भएको छ ।
कोषले आज एक सूचना प्रकाशित गरी एक सय ३२ वटा पसल तथा कबल रहेको यो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो ।
उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले कोषको ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको पाइएको छ ।
काठमाडौं महानगरपालिका ११ सुन्धारामा रहेको ६ रोपनी जग्गामा निर्माण भएको ८२ हजार ९५ वर्गफिट बराबरको पसल कबल लिलामीका लागि सूचना प्रकाशित गरिएको हो ।
कोषले ३५ दिने सूचना प्रकाशित गरी इच्छुक बोलपत्रदातालाई आवेदन दिन आग्रह गरेको हो । कोषले कर्जा लिने ऋणीले म्यादभित्र कर्जा चुक्ता नगरि ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लङ्घन गरेको पाइएकाले लिलामीको सूचनामा स्पष्ट पारिएको छ ।
पसल तथा कबलको विस्तृत जानकारी कोषमा सम्पर्क राखी प्राप्त गर्ने सकिनेछ । बोलपत्रदाताले आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटीबापतको रकम नेपाल इन्भेस्टमेन्ट बैंक पुल्चोकमा रहेको कोषको चल्ती खातामा जम्मा गर्न आग्रह गरिएको छ ।