भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला संगठन कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
शनिबार साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंंगाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको छ ।
बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेता समेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्द सत्रका अध्यक्ष महेश बस्नेतले नाम पढेर सुनाएका थिए । त्यसमा कसैले विरोध नगरेपछि सर्वसम्मत भएको थियो ।
जिल्ला अध्यक्षमा वागमती प्रदेशसभा सदस्य शशिजंग थापा र सचिवमा मदनसुन्दर श्रेष्ठले दाबी गर्दैआए पनि नेताहरूको प्रयासले सर्वसम्मत नेतृत्व चयन गरेको बताइएको छ ।