काठमाडौं । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले एमसीसी संसदमा टेबल गर्नुपर्ने बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै नेता पण्डितले एमसीसी संसदमा टेबल गर्नुपर्ने बताउँदै एमालेले एमसीसी पास गराउन सहयोग गर्ने बताएका छन् ।
साथै उनले नेकपा एमालेको जारी जिल्ला अधिवेशनमा धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको र केहीमा सहमति निकाल्ने प्रयास जारी रहेको बताए । अहिले पार्टीभित्र सहमतिय वातारवरण रहेको हुँदा धेरै ठाउँमा निर्वाचन नभएको र केही ठाउँमा नेताहरुको बीचमा प्रतिस्पर्धा भइ हाल्यो भने त्यसलाई पनि प्रजातान्त्रिक तािरकाबाट छिनोफानो गर्ने नेता पण्डितको भनाई छ । एमालेले अधिवेशनमार्फत संगठनात्मकरुपमा चुस्त दुरुस्त र संगठनको जुन संरचना छ त्यसलाई व्यवस्थित बनाउन लागि परेको उनले बताए ।
पार्टीभित्रका केही नेताहरु छुट्टिएर गएपनि आफूहरुले त्यसभन्दा धेरैलाई पार्टी प्रवेश पन गराएको उनले बताएका छन् । पार्टीबाट भागेका धेरै नेताहरुले पुरानै ठाउँमा फर्किने वातावरण मिलाइ दिन आग्रह गरेको बताउँदै उनले एमाले बितेका सबै कुराहरु बिर्सेरसँगै काम गर्ने वातारवरण मिलाएर अगाडि बढेको बताए । साथै उनले एमालेलाई संगठनिकरुपमा र जनसमर्थनको हिसाबले हेर्ने हो भने विगत भन्दा बलियो नै रहेको उनले दाबी गरेका छन् । अहिले दलहरुका बीचमा गठबन्धन गरेको हुँदा जतिसुकै बलियो देखिए पनि राष्ट्रिय सभाको निर्वाचनसम्म गठबन्धन रहिरहन्छ भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताउँदै उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमाले कमजोर नहुने दाबी गरेका छन् ।