काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताएका छन् । अध्यक्ष दाहालले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताएका हुन् ।
नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको उनको भनाइ छ । तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन् ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश हो, नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश पनि हो,’ उनको सन्देशमा उल्लेख छ, ‘देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ हुन्, यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो ।’