पलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । राष्ट्रपति विहान १०ः३० बजे मन्दिर पुगेकी थिइन् । उनी राष्ट्रपति भएपछि यस मन्दिरमा पूजाअर्चना गरेको यो तेस्रो पटक हो । राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ ।
करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ । यो मन्दिरमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।