काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)मा वर्षाका कारण स्थगित भएका खेलहरु बिहीबार र शुुक्रबार हुने भएका छन् । लगातार पानीले खेल रोकिएपछि आयोजकले मंगलबार पुनः नयाँ खेल तालिका सार्वजनिक गरेको हो । नयाँ खेल तालिकाअनुसार काठमाडौं किग्ंस इलाभेन र विराटनगर वारियर्स तथा चितवन टाइगर्स र भैरहवा ग्लाडियर्टसबीचको खेल बिहीबार हुनेछ ।
आजका लागि तय भएको पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनको खेल शुक्रबार बिहान साढे ९ बजे सुरु हुनेछ। आइतबार देखि लगातार पानी परेपछि मैदान भिजेपछि ३ खेल टस नै नभइ स्थगित भएका थिए। आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियर्टस बिचको खेल १० दशमलव १ ओभर हुँदा पानीले खेल अवरुद्ध भएको थियो ।
सो खेलमा दुवै टोलीले अंक बाँडेका थिए। त्यसयताका ३ खेल पानीका कारण हुन सकेको छैन।ईपीएलमा भोलि बुधबारको पहिलो खेलमा ललितपुर प्याट्रियट्स र पोखरा राइनोज बिहान साढे ९ बजे खेल्नेछन् । भोलि नै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स दिउँसो साढे १ बजे भिड्नेछन् ।