काठमाडौं । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टी निर्णयअनुसार सुदूरपश्चिम इन्चार्ज आफैं भएको बताएका छन् ।
उपाध्यक्ष भीम रावल नेतृत्वमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलको बैठकपछि उनले यस्तो भनेका हुन् ।
थापाथली हाइटस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको कार्यदल बैठकले १० बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनमा केन्द्रित रहेर छलफल गरेको उनले बताए ।
बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका उनले बताए ।
त्यसका लागि २०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशीलहरुको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्न छलफल गरिएको कार्य दलका सदस्यसमेत रहेका भट्टले बताए ।
कार्यदल संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्चार्जको विषयलाई लिएर विवाद छ ।
संयोजक रावलले उक्त विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरेका छन् ।
कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन् ।