काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती सरकारको नेतृत्वमा आफूहरूको दाबी रहेको बताएका छन् । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहेको बताएका हुन् ।
‘प्रदेश सरकारमा पनि हाम्रो सहभागिता हुनेछ । त्यसका लागि हामीले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दाबी गरेर छलफल चलाइरहेका छौँ,’ उनले भने । प्रदेश १ र बागमतीमा जुनसुकै बेला नयाँ सरकार बन्न सक्ने नेपालको भनाइ छ । ‘प्रदेश १ र बागमती प्रदेशमा पनि सरकार बनाउने प्रयास भइरहेको छ । त्यहाँ जुनसुकै बेला पनि नयाँ सरकार बन्न सक्छ,’ उनले भने।
सत्तारुढ गठबन्धनभित्र प्रदेश सरकारका विषयमा छलफल भए पनि नेतृत्वका विषयमा टुंगो नलागेको बताए । ‘गठबन्धनभित्र यो विषयमा छलफल भएको छ,’ उनले भने, ‘केन्द्रमा सरकारले पूर्णता पाएपछि प्रदेशको नेतृत्व टुंग्याउँछौँ ।’