नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएकी छन् । उनी बिहान कतार हुँदै काठमाडौं आइपुगेकी हुन् ।
नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएकी हुन् । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला फतिमाको भ्रमण भएको हो ।
चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।
यसैबीच, एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंका प्रमुख चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन् । एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ ।
हिजोमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।
यसैबीच, एमसीसीको विरोध गर्दै त्रिभुवन विमानस्थल पुगेका उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल सहितका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।