काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडी बढ्ने बताएका हुन् । एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्ने उनले उल्लेख गरे नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे ।
सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै मन्त्रिको नाम पाउनासाथ मन्त्रिपरिषद् बिस्तार हुने बताए । नेपाली कांग्रेसभित्र भने मन्त्रीको विषयमा समस्या नरहेको र मन्त्रीको नाम तय भइसकेको उनको भनाइ छ ।