भक्तपुर । नेपाली कांग्रेसको आगामी मंसिरमा हुन गइरहेको १४औं महाधिवेशनको पहिलो चरण अन्तर्गत जिल्लाका वडा अधिवेशनहरु सुरु भएको छ ।
क्रियाशील सदस्यता विवादका बीच ३५ जिल्लामा शुक्रबारबाट सुरु भएको वडा अधिवेशनमा भक्तपुर जिल्लाको ३८ वडा मध्ये ३० वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
जिल्ला सभापनि दुर्लभ थापाको वडा सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए भने उक्त अधिवेशनका बेला जिल्ला सभापति थापा र देउवाबीच भनाभनको अवस्था सिर्जना भएको थियो ।
कांग्रेस जिल्ला सभापति थापाले मन्तव्य राख्ने क्रममा दिएको अभिव्यक्तिप्रति देउवाले आक्रोसपूर्ण तरिकाले बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भक्तपुरको कांग्रेस वडा अधिवेशनले ठूलै चर्चा बटुल्यो ।
उक्त भिडियोमा देउवा भक्तपुरका कांग्रेस सभापति दुर्लभ थापासँग झोक्किएको देखिएको छ ।
देउवाको पहिलो वाक्य सुनिन्छ, ‘झुट बोल्ने तपाईँ ! सबै न्युजमा जान्छ भोलि यहाँ !’
देउवा आक्रोशित देखेपछि थापाले भनेका छन्, ‘तपाईं चुनाव लडेपनि हराउने भनिरा’छ त महेश बस्नेतले । तपाईंलाई यहाँ चुनाव लड्न चुनौती दिएका छन् ।’
त्यसपछि झनै रिसाएका देउवाले मास्क लगाएर केही बोल्छन् । त्यो प्रष्ट सुनिँदैन ।
लगत्तै थापाले भनेका छन्, ‘लड्नु हुन्न भने त मैले ।’
त्यसपछि देउवाले सोध्छन्, ‘को लड्दैछ ? वाहियात ।’ त्यसपछि हातले इशारा गर्दै देउवाले थापालाई भनेका छन्, ‘तिमी त खत्तम मान्छे रहेछ ।’
उद्घोषकले उद्घोषण जारी राख्छन् । देउवा र दुर्लभको बीचमा रहेका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानालाई मन्तव्यका लागि बोलाउँछन् । उनको नाम सुनिँदैन ।
‘कस्तो कुरा गर्छ यार,’ यहीबीचमा देउवाले यस्तो कुरा भाषणमा गर्नै नहुने सुझाए, ‘चुनाव लड्न चुनौती दिए भनेर भाषण गर्दै हिड्ने तपाई ?’
जिल्लामा सर्वसम्मत नेतृत्व चयन:
भक्तपुर नगरपालिकाका ९ वटा, सूर्यविनायक नगरपालिकाका ९ वटा, चाँगुनारायण नगरपालिकाका ६ वटा र मध्यपुर थिमी नगरपालिकाका ६ वटा वडामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ ।
कांग्रेसको विधानअनुसार वडामा एक जना सभापति, २ जना उपसभापति, २ जना सचिव र २ जना सहसचिव रहने व्यवस्था छ । बाँकी सदस्यहरु रहन्छन् । यही अधिवेशनले क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत छनौट गरिएको छ ।
सूर्यविनायक नगरपालिकाकाका १० वटामध्ये १, २, ३, ४, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत चयन भएको छ ।
सर्वसम्मत चयन गरिएका वडा सभापतिहरुमा वडा नं. १ मा सुरज मिश्र, २ मा कृष्णभक्त श्रेष्ठ, ३ मा प्रभुभक्त माडी श्रेष्ठ, ४ मा पवन न्यौपाने, ५ मा राजु ढुङ्गेल, ६ मा राजेन्द्र ट्वाटी, ७ जगदिश बस्नेत, ८ मा बच्चुराम थापा र ९ मा गोकुल खत्री छन् ।
सूर्यविनायक नगरपालिकाको वडा नं. १ को अधिवेशनबाट २८ जना क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत छनौट भएका छन् । जसमा देवेन्द्र न्यौपाने, राजन थापा, हरि राउत, हरिशरण राउत, मिरन राउत, मनोजकुमार कार्की, अर्जुप्रसाद डोटेल, राजकुमार न्यौपाने, कविन्द्र मिश्र, अच्युतप्रसाद मिश्र, रमा के.सी., जनार्दन घिमिरे, इन्द्रमाया नेपाली, ललिता धिताल पोखरेल, मञ्जुकुमारी बराल, दुर्गा न्यौपाने, अनिता भट्टराई, सुनिल थापा, धननाथ मिश्र (उपाध्याय), सजना केसी, राजराम थापा, पार्वती गिरी, लक्ष्मी पिला श्रेष्ठ, निरा महर्जन, अष्टलाल महर्जन, भिमसेन श्रेष्ठ, रमण कायस्थ, रुद्रबहादुर थापा रहेका छन् ।
यसैगरी वडा नं. ४ को अधिवेशनबाट २६ जना क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत छनौट भएका छन् । जसमा रामगोपाल न्यौपाने, मिठाराम न्यौपाने, कृष्ण मुरारी न्यौपाने, रमा कोइराला पौड्याल, मन्दिरा बास्कोटा, शशिकुमार न्यौपाने, सानुमैया (राजथला), रितादेवी खत्री, शान्ती द्विवेदी, नामामैया तामाङ, सिमा न्यौपाने, सुमन न्यौपाने, सुजिता परियार, रोशनी श्रेष्ठ प्रधान, सन्तोष सिलवाल क्षेत्री, प्रेमबहादुर खडका, शिवराम न्यौपाने, सन्तोष श्रेष्ठ, लछुराम न्यौपाने, प्रतिमा श्रेष्ठ, उज्जवल राजथला, सुरेन्द्र प्रजापति, दिनेश न्यौपाने, राजकुमार श्रेष्ठ, प्रेमप्रसाद न्यौपाने (अपांगता) र रामहरि न्यौपाने रहेका छन् ।
केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाका मात्र क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । क्रियाशील सदस्यहरु वडा अधिवेशनमा प्रतिनिधि हुन्छन् । क्रियाशील सदस्यमा विवाद परेकै कारण २१ जिल्लाको सूची प्रकाशन हुन नसकेको हो ।
५६ जिल्लामध्ये ३५ जिल्लामा अधिवेशन शुक्रबार भएको हो । बाँकीमा गर्दै जाने र क्रियाशील सदस्य सार्वजनिक हुन बाँकी जिल्लामा अन्तिम सूची प्रकाशन गरेर यही भदौ २६ गतेभित्र अधिवेशन सम्पन्न गर्ने समितिको योजना छ । २७ गते नगर र क्षेत्रको अधिवेशन गर्ने तालिका रहेको छ ।