काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि स्थगित गरिएको छ । साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विश्वविद्यालयले सूचना जारी गर्दै एक साताका लागि स्थगित गरेको थियो ।
परीक्षा व्यवस्थापन कार्यालयले आज अर्को सूचना जारी गरी पुनः एक साताका लागि परीक्षा स्थगित गरिएको जनाएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलनमा रहेको र वार्ता टुंगोमा पुग्न नसक्दा परीक्षा स्थगित गरिएको हो ।
विश्वविद्यालयले १२ गतेदेखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो । तर, विद्यार्थीहरुले भने अनलाइनमार्फत परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए ।
विश्वविद्यालयले विद्यार्थी आन्दोलनलाई नै कारण देखाउँदै परीक्षा पुनः स्थगित गरिएको जनाएको छ ।
विश्वविद्यालयका आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भने अनलाइनमाध्यमबाट पढाइ भएकाले अनलाइन माध्यमबाटै परीक्षा लिनुपर्ने लगायतका विभिन्न १९ बुँदे माग राख्दै दुई सातादेखि आन्दोलन गरिरहेका छन् ।