काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई निषेधाज्ञा खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिनुभएको हो ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उहाँले बताउनुभयो । अध्यादेश ल्याउने, जीएम नियुक्ति गर्ने लगायत कानुन व्यवस्थित गरिसकेका उहाँको भनाइ छ । मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिनुभयो ।
मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्नेकुरा पनि स्पष्ट पार्नुभएको छ । खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उहाँको भनाइ छ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उहाँले निर्देशन दिनुभयो ।
त्यसैगरी यातायात व्यवस्था विभागले पनि हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।