काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित बयान दिएका छन् ।
भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको बताएका हुन् । उनले यो कुरा नेपालीले बुझ्न नसकेको पनि बताए ।
‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर व्यापपक विरोध भइरहँदा लेखक मुन्तशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको तर्क गरे ।
उनले भनेका कुरा जस्ताको तस्तै :
नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन । नेपाली त हाम्रा भाई नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।
उनको यो भनाईको नेपालमा अहिले विरोध भइरहेको छ । उनको तर्क सहि नरहेको जानकार बताउँछन् ।