काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने भएको छ । चारवटा छुट्टाछुट्टै मुद्दा र ३० जना प्रतिवादी भएको कारण थुनछेक प्रयोजनकै लागि कम्तीमा दुई साता लाग्ने भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ ।
थुनछेकका क्रममा ५ देखि ७ जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट करिब ५० जना अधिवक्ताहरूले बहस गर्ने अनुमान गरिएको छ । यो सबै प्रक्रिया पूरा हुन करिब दुई साता लाग्ने सहन्यायाधिवक्ता नेउपानेले बताए ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुखसमेत रहेका सह न्यायाधिवक्ता नेउपानेका अनुसार शुक्रबार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ ।
न्यायाधीशका सामुन्ने अदालतका कर्मचारीले बयान लिई उक्त बयानलाई प्रमाणित गर्नुपर्ने र पक्राउ परेका प्रत्येक अभियुक्तको छुट्टाछुट्टै बयान लिइने छ । अदालतले आवश्यक देखेमा एकैपटक दुईजना प्रतिवादीको बयान पनि लिन सक्नेछ ।
सरकारवादी मुद्दा र चारवटा फरक–फरक कसुर लगाइएको तथा ३० जना प्रतिवादी रहेको कारण यो मुद्दामा सरकारी वकिलको तर्फबाट प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गर्नेछन् ।
यो मुद्दामा बहसका लागि आफूसमेत उपस्थित हुने सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताएका छन् । शुक्रबारबाट सुरु हुने प्रतिवादीहरूको बयानका क्रममा पत्रकार वा अन्य सरोकारवालालाई प्रवेश दिइने छैन ।