काडमाडौं । चीन विश्वकै सबैभन्दा बढी कार निर्यातकर्ता बनेको छ । सन् २०२३ को पहिलो तीन महिनामा जापानलाई उछिन्दै चीन विश्वकै धेरै कार निर्यातक देश बनेको हो ।
चीनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पहिलो तीन महिनामा चीनबाट १० लाख ७ हजार कार निर्यात भएको बीबीसीले जनाएको छ । यो सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा ५८ प्रतिशतले धेरै हो ।
जापानले सन् २०२३ को पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार निर्यात गरेको छ । यो सङ्ख्या गएको वर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।
विद्युतीय कारको लोकप्रियता र रुसमा कारको माग बढेको कारण चीनको निर्यात बढेको बीबीसीको खबरमा उल्लेख छ ।चीन गएको वर्ष जर्मनीलाई पछि पार्दै कार निर्यातमा विश्वको दोस्रो स्थानमा आएको थियो । विश्वभर विद्युतीय कारको माग बढेका कारण चीनलाई फाइदा भएको हो ।
चीनले पछिल्लो समय विद्युतीय कार उत्पादनमा ख्याती बढाउँदै गएको बीबीसीले जनाएको छ ।