काठमाडौं । क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार भक्तपुरको सल्लाघारी–जगाती सडकखण्डमा गरिएको रात्रिकालिन् चेकिङ्का क्रममा सवारी साधनको हद निर्धारण गरिएको भन्दा बढि मालसामान राखिएका मालवाहक सवारी साधनलाई कारबाही गरिएको जनाइएको छ।
कारबाहीका क्रममा ३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गराइएको थियो भने ४३ वटा सवारी साधनमा बढी भएको सामान हटाउन लगाइएको थियो ।
सवारी साधनमा क्षमता भन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा असर पुग्ने, साथै सवारी साधन अनियन्त्रित भई दुर्घटना हुन सक्ने भएकाले क्षमता भन्दा बढी सामान ढुवानी नगर्न पनि प्रवक्ता भट्टले आग्रह गरेका छन् ।