काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको उपनगर बालेलीमा पोलियो टोलीको सुरक्षा गरिरहेको प्रहरीको गाडीमा आत्मघाती हमला भएको छ । यस हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा परेका बलुचिस्तान कन्स्टेबुलरीका जवानहरू पोलियो ड्युटीमा जाँदै थिए । मिडिया प्रतिनिधिहरूसँग कुरा गर्दै क्वेटा प्रहरीका डीआईजी गुलाम अजफर महेसरले यो आत्मघाती हमला भएको जसमा २० देखि २५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको जानकारी दिए ।
उनले बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई निशाना बनाएर विस्फोट गराएको बताए जसमा जवानहरू ड्युटीमा गइरहेका थिए । विस्फोटमा एक प्रहरीसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २० प्रहरीसहित २४ जना घाइते भएका छन् ।
विस्फोटबाट अन्य तीनवटा गाडीमा पनि क्षति पुगेको छ । प्रतिबन्धित आतंकवादी संगठन तेहरिक–ए–तालिबान पाकिस्तानले आक्रमणको जिम्मेवारी लिएको छ । विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारका लागि क्वेटाको सिभिल अस्पतालमा लगिएको छ ।
यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको कडा निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।
प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री शहबाज सरिफले घटनामा मारिएका र घाइते भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पोलियो अधिकारीहरूले देशबाट घातक रोग निर्मूल पार्न अथक प्रयास गरेको भन्दै आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको बताइएको छ ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘पाकिस्तानले कानुन प्रवर्तन एजेन्सीहरू र पोलियो अधिकारीहरू विरुद्धको यी प्रयासहरूलाई कहिल्यै सफल हुन दिने छैन ।’
केन्द्रीय गृहमन्त्री राणा सनाउल्लाहले विज्ञप्ति जारी गर्दै उक्त विस्फोट आत्मघाती हमला भएको बताएका छन् । अपराधीहरुको निशानामा प्रहरी दल नै थियो । घटनाको विस्तृत रिपोर्ट बलुचिस्तान सरकारसँग माग गरिएको छ ।