काठमाडौं । बडादसैंअन्तर्गत आज महानवमी पर्व मनाइँदै छ । आजको दिनमा नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेले भने आ–आफ्नो कूल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो लगायतको बलि दिने र नरिवल चढाउने गर्छन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने महानवमीमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
महानवमीका दिन कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दसैंघर लगायत कतिपय समुदायले महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाइन्छ ।
महानवमीमा धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो ।
सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवत लगायत ग्रन्थमा उल्लेख छ ।