काठमाण्डौ । सत्ता गठबन्धनका दलहरुबीच आगामी संघ र प्रदेश निर्वाचनका सिट बाँडफाँडको बिषय झनै पेचिलो बन्न थालेको छ । सिट बाँडफाँडका बिषयमा नियमित रुपमा छलफलमा जुटेका दलहरु सहमतिमा पुग्ने छाँटकाँट देखिएको छैन । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस १६५ सिटको प्रतिनिधि सभाका १ सय सिट आफ्नो भागमा आउनुपर्ने दाबी गरिरहँदा अन्य दलहरुलाई भाग मिलाउन नै सकस परिरहेको छ । निर्वाचनको मिति तोकिएसँगै झण्डै एक महिना महिना अघिदेखि बाँडफाँडको छलफलमा जुटेका दलहरु तालमेल गर्दा कुन दलले कति हिस्सा लिने भन्ने विषय अझै टुंगिएको छैन । दलहरूबीच सिट बाँडफाँटको विषय झन् झन् पेचिलो बन्दै गएको छ । गठबन्धनमा रहेका दल सकेसम्म बढी हिस्सा लिन एक–अर्कामा बार्गेनिङमा उत्रिएका छन् । गठबन्धनको सबैभन्दा ठूलो दल भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लचकता देखाएर भए पनि चुनावी तालमेल गर्ने पक्षमा छन् । अन्य दलहरू भने गठबन्धनमा ठूलो भाग नपाए फरक गठबन्धनको सम्भावनासमेत नटरेको भन्दै धम्क्याइरहेका छन् । यस्तो परिस्थितिमा गठबन्धनको भविष्य कस्तो होला हेर्न बाँकी नै छ ।