काठमाडौं । गण्डकी प्रदेशमा आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी १४ वटा खेलका लागि खेलाडी प्रशिक्षण र छनोट सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको हो ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कार्यक्रमको उद्घाटन गरे । पहिलो चरणमा भदौ ३ गतेदेखि १४ वटा खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बाग्लुङमा सञ्चालन भएको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताए।
२० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्यान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् ।
खेलाडी तथा खेल सङ्घका पदाधिकारीलाई परिषद्ले उपलब्ध गराएको खेल सामग्री, स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अर्थमन्त्री बरालले खेलाडीको प्रर्दशनले नै प्रदेशको शिर उच्च बनाउने बताए । प्रतियोगिता सम्पन्न गर्न आर्थिक हिसाबले कुनै अभाव नहुने उनले आश्वासन दिए ।
जिल्ला छनोटपछि पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । प्रतियोगितामा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलका झन्डै आठ हजार खेलाडीले भाग लिने परिषद्ले जनाएको छ ।
गण्डकी प्रदेशबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरू भदौ २६ देखि असोज २६ गतेसम्म बन्द प्रशिक्षणमा राखिनेछन् । यसअघि दोस्रो राष्ट्रिय खेलकुद पोखरामा भएकोमा ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद फेरि पोखरामा हुन लागेको हो ।