काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिकारोबार सात लाख र त्योभन्दा बढीको नगद कारोबारको विवरण बुझाउन आग्रह गरेको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पति शुद्धीकरण अनुगमन इकाइले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई पत्र लेख्दै माघ २४ गतेभित्र प्रतिकारोबार सात लाख र त्योभन्दा बढीको नगद कारोबारको विवरण बुझाउन आग्रह गरेको हो ।
राष्ट्र बैंकले गएको साउन १ देखि पुस ३० गतेसम्मको विवरण माग गरेको हो । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार गर्नेलाई निगरानी गर्न थालेको छ ।
राष्ट्र बैंकले सात लाख रुपैयाँभन्दा माथिको नगद कारोबारको अनुसन्धान थालेको जनाएको छ । अहिलेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद निकाल्न पाइँदैन ।
पछिल्लो दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शंकास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैंकले कडाइ गरेको हो ।