काठमाडौं । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार (आज)मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी भिड्दै छन् ।
बिहीबार आजका विजेताले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैले बिहीबार आजका दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । बिहीबार भएका विजेताले एपीएफसँग उपाधिका लागि खेल्ने छ ।
यसअघि बुधबार भएको खेलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एफीएफका लागि सनिश श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले एक–एक गोल गरेका थिए ।
यस्तै मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काएका थिए । खेलको २५ औं मिनेटमा एपीएफका सनिशले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ४० औं मिनेटमा मछिन्द्रका ओमोलाजाले गोल गर्दै खेललाई एक–एक गोलको स्थितिमा ल्याए । त्यसपछि ६९ औं मिनेटमा प्रदीप र इन्जुरी समयमा नवीनले गरेको गोलसँगै एपीएफ ३–१ गोलले विजयी भयो ।
फाइनल खेल शनिबार हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।