काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार बिहीबार प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।