काठमाडौं । रसुवा भन्सार कार्यालय टिमुरेबाट रु.चार अर्ब ३३ करोड बढी राजस्व संकलन हुँदा निर्यात भने शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट प्राप्त राजस्वको आँकडा हो ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार ६ महिनाको अवधिमा रु.४ अर्ब ३३ करोड ४५ लाख ९ हजार संकलन भएको छ । कोभिड संक्रमणको सुरूआतपश्चात चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत् रसुवागढीको मितेरी पुल छेउमा सामान पुर्याउने गरेको छ ।
व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत् आयात गरिएका सामग्रीमा लाग्ने शुल्कबापतको राजस्व असुली भएको हो । चीनतर्फ जाने निर्यात भने शून्य छ ।
दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यसवर्ष झण्डै साढे दुई गुणाले बढेको छ । गतवर्षको यस अवधिमा रु. एक अर्ब ७२ करोड २४ लाख दुई हजार मात्र असुली भएको थियो ।