काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन् ।
उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोप सम्बन्धी निर्देशन जारी गरेका छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनु पर्नेछ ।
आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् । हिजो ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले बढी सङ्क्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताएका थिए ।