काठमाडौं । भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ ।
विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले कोरोनाभाइरस महामारी (कोभिड–१९) को दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पुनः गति लिने जनाएको छ । सन् २०२० मा कोभिड–१९ का कारण व्यापक गिरावट आएको अर्थतन्त्र कोभिडको संक्रमण कम देखिनासाथ सक्रिय भएको थियो ।
मुडिजका अनुसार भारतमा लगानीको वातावरण अझै सुधार आउन सकेको छैन । खासगरी भारतमा अर्थतन्त्रको वृद्धि तुलनात्मक रूपमा न्यून भएको, कमजोर सरकारी वित्त प्रणाली र वित्तीय क्षेत्रका जोखिम बढ्दो क्रममा रहेको मुडिजको विश्लेषण छ ।
लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोभिडको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ ।
राजश्वमा हुने सामान्य गिरावट र कोभिडसँग सम्बन्धित क्षेत्रमा परिचालित हुने खर्चले सरकारी कोषमा कूल गार्हस्थ्य उत्पादनको ११.८ प्रतिशत भार थपिने छ ।