अफगानिस्तानको जलालावादमा तीन सञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परि एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ ।
स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेको छ । घटनाको जिम्मा कसैले नलिए पनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत महिना मात्र सर्वोच्च अदालतका दुई जना न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानिएको थियो ।
यता राष्ट्रपति अशरफ घानीले तालिवानी विद्रोहीलाई नियन्त्रणयमा लिन सरकार लागि परेको बताएका छन् । उनले तालिवानीले देश कब्जा गर्न नसक्ने दावी गरेका छन् ।