एजेन्सी । काठमाडौं । अमेरिकाको खोप निर्माता कम्पनी फाइजरले विश्वभर कोरोना खोप पुर्याउन चार्टर्ड उडान सञ्चालन गर्ने भएको छ । खोपलाई सरकारी स्वीकृति प्राप्त हुनेबित्तिकै तीव्र रुपमा विश्वका विभिन्न देशमा पुर्याउन चार्टर्ड उडान सञ्चालन गर्न लागिएको हो । फाइजरले स्वीकृतिका लागि आवेदन दिइसकेको छ ।
वाल स्ट्रीट जर्नलका अनुसार खोप राख्नका लागि अमेरिकाको मिसिगन र विस्कन्सिन तथा युरोपका बेल्जियम र जर्मनीमा भण्डारण बनाइएको छ । हाल विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २० लाख ६५ हजार ४ सय ५३ पुगेको छ भने १४ लाख ४९ हजार ३ सय ४३ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ३२ लाख २७ हजार १ सय ९५ पुगेको छ। त्यहाँ २ लाख ६५ हजार ९ सय ३८ जनाको मृत्यु भइसकेको छ। यस्तै, भारतमा ९३ लाख ५१ हजार १ सय ९ जना संक्रमित भएका छन् भने १ लाख ३६ हजार २ सय जनाको मृत्यु भएको छ ।