एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोजकले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनबीच हुने भनिएको दोस्रो टिभी बहस रद्द गरिएको जनाएको छ ।
राष्ट्रपति ट्रम्प भर्चुअल बहसका लागि तयार नभएको र उनमा कोरोना संक्रमण भएका कारण प्रत्यक्ष बहस आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् ।
वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उधृत गर्दै सिएनएनले अब दुई उम्मेदवारबीच नासभिलेमा तेस्रो टिभी बहसका क्रममा भेट हुने जनाएको छ । अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको जानकारी दिँदै आयोगले अब आफ्नो सम्पूर्ण ध्यान अक्टोबर २२ मा हुने तेस्रो बहसका लागि केन्द्रित गर्ने जनाएको छ ।
जनस्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रत्यक्ष कार्यक्रम रद्द गरेर भर्चुअल बहसका लागि गरिएको प्रस्तावलाई ‘समयको बर्बादी’ भन्दै ट्रम्पले सहभागि नहुने जनाएपछि दोस्रो बहस नै रद्द गरिएको हो ।