काठमाडौं । रुसी सेनाले युक्रेनको एक सैनिक ब्यारेकमा आक्रमण गर्दा सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु भएको आशंका गरिएको छ । युक्रेनको माकोलाइभ शहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा रुसले ३ वटा क्षेप्यास्त्र प्रहार गर्दा सय भन्दा बढी युक्रेनी सेना मृत्यु भएको आशंका गरिएको हो ।
करिब २ सय सैनिक रहेको सो ब्यारेकमा गरिएको आक्रमणमा घाइते भएका ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । रातको समयमा सैनिकहरु सुतिरहेको अवस्थामा रुसले गरेको यो आक्रमण निकैनै कायर रहेको विश्लेषण गरिएको छ । सो ब्यारेकको भग्नावशेषमा कति सैनिक फसेका छन् भन्ने यकिन नभए तापनि उद्धार कार्य जारी छ ।
यस्तै, रुसी सेनाको घेरबन्दीमा परेको युक्रेनको मारियोपोल शहरमा फसेका सयौं नागरिकको उद्धारमा रुसी सेनाले अवरोध गरेको आरोप युक्रेनले लगाएको छ । मारियुपोल शहरलाई चारैतिरबाट घेरा हालेको रुसी सेनाको प्रतिकारका लागि युक्रेनी सेना उत्रेपनि उद्धार कार्य सफल हुन सकेको छैन ।
बन्दरगाह शहर मारियुपोल रुस समर्थित पृथकतवादीबाट नियन्त्रित डोनेट्स्क र लुहान्स्कको बीचमा पर्ने भएकाले रुसले सो शहरमा आँखा बढी ध्यान केन्द्रित गरेको छ । युद्धका कारण हाल युक्रेनमा ३ लाख मानिस खाना र पानीको अभावमा पिल्सिन थालेको बताइएको छ ।