काठमाडौं । संयुक्त राष्ट्रसंघले सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् ।
सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बताएका हुन् ।
यस अघिदेखि नै संयुक्त राष्ट्रसंघका मानवीय सहायता सम्बन्धी निकायका अधिकारीहरुले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताउँदै आएका थिए ।
तर संयुक्त राष्ट्रसंघमा ब्रिफिङका क्रममा सहायता प्रमुख गिरिफिथले यहाँ एक करोड १३ लाख मानिसमा यस्तो सहायता चाहिएको बताएका हुन् । ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् ।