काठमाण्डौ । संघीय राजधानी काठमाण्डौबाट आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले मुख्य समाचारका रुपमा यी शीर्षकहरुमा समाचार प्रकाशन गरेका छन् । आजको कान्तिपुर दैनिकले सत्ता समीकरणबारे जसपा अझै अनिर्णीत, शीर्ष नेताबीच मतभेद यथावत.शीर्षकको समाचारमा लेखेको छ ।
भावी सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा जुटे पनि उनीहरूबीच विवाद कायमै देखिएको छ । आइतबारको पदाधिकारी बैठकमा भावी समीकरणलाई लिएर शीर्ष नेताका दुईथरी मत आएका छन् । सोही कारण बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर जान सकिने पक्षमा देखिएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ‘प्रतिगमनका मतियार बनेका ओलीसँग सहकार्य गर्न नसकिने’ अडानमा उभिएका छन् ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठकमा जसपाका नेताहरुले आन्तरिक छलफल गरेर सत्ता समीकरणबारे निर्णय लिइने बताएका थिए । त्यसैअनुसार जसपाका शीर्ष नेताहरुको बैठक बसेको हो । तर, भावी गठबन्धन ओलीसँगै वा ओलीविरोधी दलहरुसँग भन्नेमा जसपाका नेताको मत विभाजित भएको हो ।
कांग्रेसले चैत २० मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने अग्रसरता लिने निर्णय गरेको थियो । तर, संसद्मा चौथो शक्तिका रुपमा रहेको जसपा अनिर्णीत हुँदा सत्ता गठबन्धनको गाँठो फुकेको छैन । संसद्मा जसपाका ३२ सांसद छन् । ओली सरकारको निरन्तरता वा कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका लागि जसपा निर्णायक भूमिकामा छ । तर, संसद् पुनस् स्थापना भएको दुई महिना पुग्न लाग्दा पनि जसपाले भावी गठबन्धनबारे मूर्त निर्णय लिएको छैन ।
यसैगरी, आजको गोरखापत्र दैनिकले हेलिकोप्टरले पानी हालेपछि शिवपुरीमा लागेको डढेलो नियन्त्रणमा शीर्षकको समाचारमा लेखेको छ ।
काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आज विहान १० बजे देखि लागेको आगो दमकल र हेलिकोप्टरबाट पानी हालेर बेलुका ५ बजे नियन्त्रणमा आएको हो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी प्रभाग वुढानिलकण्ठका प्रहरी हवलदार सुशील कुमार सिंहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
आगो नियन्त्रण लिन सिम्रिक एयरलाइन्सको हेलिकोप्टरले पानी हालेको प्रहरीले बताएको छ । यसैगरी तीन वटा दमकल पनि आगो नियन्त्रण लिन प्रयोग गरिएको थियो । सिम्रिक एअरको हेलिकप्टरले मेलम्ची खानेपानी आयोजनाले उपलब्ध गराएको पानीको सहयोगमा आगो निभाएको हो ।
यस्तै, आजको अन्नपूर्ण पोष्टले तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह शीर्षकको समाचार प्रकाशित गरेको छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन्। नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आइतबार आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताए।
महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए।
नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधँ देश र जनताको हितमा काम गरेको स्मरणसमेत गरु । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताए।